Sunday, January 9, 2011

गीत

                                                                     दिपक कथित

देखाउनै नसक्ने मन, किन हुन्छ हामीसँग ?
सधैँभरि सारङ्गी नि, किन रून्छ हामीसँग ?

विश्वास हुन्थ्यो सबै कुरा, भित्रसम्म देख्ने भए
देखाउनेथेँ उनकै तस्वीर, त्यो मनमा लेख्ने भए ।
कसरी लौ विश्वास दिलाऊँ, घाम हुन्छ बादल पारी
सक्तिनँ म लैजाऊँ भन्न, वर्षायामको खोला तारी ।

यति धेरै नाकाहरू, किन हुन्छ हामीसँग ?
खेल्दै बग्ने नदी पनि, किन रून्छ हामीसँग ?

कति गाह्रो हुने रै', मनको खोली तर्नुपर्दा
लाज लाग्ने आफैलाई, यतिसम्म झर्नुपर्दा ।
किन लाग्छ फेरि पनि, हार पनि जीतजस्तो ?
विछोडमा खसेका यी, आँसु पनि प्रीतजस्तो ?

विरहकै गीत मात्र, किन हुन्छ हामीसँग ?
हाँस्नु पर्ने प्रीत पनि, किन रून्छ हामीसँग ?

Friday, January 7, 2011

रुदैछिन् आमा (लोक छन्द{झ्याउरे लय})

सुमित्रा पौडेल


रुदैछिन् आमा पिडीमा बसी टुकीको साथमा !
सुख र खुशी चाहन्छिन् उनि दिन र रातमा !!
पस्दैछन् सन्तान मुग्लान पारी तिनै हुन साहरा !
दर्द र पिडा अँगाली सारा खोज्दैछन् ति चारा !!

मनग्य थियो तै आफ्नो देशमा बिकाश हरायो !
होडबाजी चल्यो कुर्चीको खेलमा तुवालो भरायो !!
हाँसो र खुशी खोसियो सारा गास ,बास ,कपास !
अभाबै अभाब देशमा खड्क्यो उठेन आवाज !!

को पुछ्ने आज बगेको आँशु नेपाल आमाको ?
बल्दैन किन ?ठोसेको आगो करोडौ जनाको !!
कुर्दैछन् अझै यी दु;खी जनताआँखामा आँशु लि !
देशका दुर्जन मासौँन आजै यो ऋण असुली !!

जनताको आशा देशको शान मिलायौ स्वार्थमा !
आखिर तिम्रै हो जन्मभुमि लड्दैछौ व्यर्थमा !!
सालको पात हल्लिन त्यसै हावा नै नलागी !
बिश्वको सामु अस्तित्व झुकाई बन्दैछौ अभागी !!

लागेको बादल नहटे सम्म देखिन्न आकाश !
तेजको होईन मनिलो बन्छ सुर्यको प्रकाश !!
फुलेको फूल त्यो मालि बिना छर्दैन सुबास !
भाबना सुद्ध नभए सम्म बढ्दैन साहस !!

मुटुमा पर्छ कसिलो गाँठो फुकाउँने कसरी ?
सम्झिदा आफ्ना बिरह चली मन रुन्छ बेसरी !!
कोपिलाभित्रै ओईलाउँने होकी बोकेका यी आशा !
यी टेक्ने पाईला पौरखी हात बन्दैछन् निराश !!

देशमा आयो धेरै नै तन्त्र लोकतन्त्र केलाई हो ?
जनताको खुशी खोसिने होकी किन यो खेल भो ?
अत्याचार बढ्यो एक भई अब जागन नेपाली !
प्यारो छ आफै देशको माटो राखौ न सम्हाली !!
 भरतपुर चितवन
हाल ; इजरायल 

प्रतिबद्धता (अनुष्टुप)

      नारायणप्रसाद पोखरेल
सदियौं अघिको मैलो जमेको छ जताततै
खानामा बालुवा माटो मिसेजस्तो कताकतै।
गन्धा फोहर मैलाले गाँजेको निच चिन्तन
अलौटे औ जलौटे ती संस्कार छन् अनेकन ।।

प्रादुर्भाव गर्यौ धेरै संसाधन नयाँ नयाँ
खुर्केरै राप यी फाल्न सीप सिर्ज्यौ अनेकन।
अर्जाप्ने कर्म भुल्नाले धार कै भुत्तिदै रहै
चर्को पाइन राख्नाले धार फुक्ली कति झरे ।।

रापिलो अग्नी ज्वालाले औंजारै पग्लीए कति
नराख्ने चिज राख्नाले खिया ली उग्लिए कति ।
विशाल विषका भेद पत्तिले ढाल्न खोजिए
न्यूरोमा बन्चरो हान्दा ढुङ्गामा कति ठोकिए ।।
फाँडेकै छौं भनि छाड्दा काँडाका बन जंगल
मासिएनन् नपोल्नाले उम्रिए विषका फल ।
विकार औस मिल्नाले विष बेर्ना बढिरहे
बगैंचा रम्य के होला दम्भी घोडा चडीरहे ।।

बलिदानी हजारौंका लाखौंका श्रम चिन्तन
मिसाएर बढ्यौ माथि अग्रता तर्फ लम्कन ।
उपलब्धी भए धेरै अझै छन् बार बन्धन
पोल्नै पर्ने अनेकौ छन् आगो बालेर दन्दन ।।

एकता मन्त्र बिर्सेर व्यक्तित्व प्रतियोगिता
आयोजना गरेजस्तो भान हुन्छ कताकता ।
 सहिदजनका स्वप्ना पाँइदैन तुहाउन
करोडौ जनतालाई पाइदैन रुवाउन ।।

सुन हाम्रो नयाँ यात्रा रोक्ने चेष्टा गर्यौ भने
त्यागीका ब्याज खाएर निचतामा झर्यौ भने ।
रक्तको घर यो फोर्न खोज्ने जो जो भए पनि
खबर्दार समातिन्छ पानीभित्र गएपनि ।।

अगाडी जनता सामु जे गर्यौ प्रतिबद्धता
सबैलाई पुरा गर्न लागौ साथि सदा सदा ।
अविस्श्राम गरौं काम एकता भाव ली कन
उमारेर नयाँ बेर्ना ढकमक्क फूलाउन ।
      मनकामना, गोरखा

थोत्रा रुख काट्नै पर्छ (उपजाति)

                नेत्रमणी शर्मा
थोत्रा पुराना रुखका ति थुरले
राम्रा स-साना मुकुना लछारिए ।
बेकार थोत्रा रुखनै नभैदिए
मुनाहरुले गति क्यै लिने थिए ।।

डग्दैन साधारण ठेलमेलले
डग्ला हुरीकै विकराल बेगले ।
आवस चाँडै हुरीनै कडा बरु
भन्ने महा छन् कलिला नयाँ तरु ।।

त्यै रुखका सन्तनी हून अरु रुख
तथापी मौका अनुसार दुर्मुख ।
देखिन्छ शोभा गतिहीन निस्क्रीय
ज्यूदा सफा वंश लता भयाबह ।।

मौलाउने हो अब शैल जंगल
डाक्ने भए देखि वसन्त मंगल ।
आरो फलासी अझ तिव्र बंचरो
मच्चाई थोत्रा रुखमा दिने गरो ।।

फस्टाउने छन् कलिला मुना पनि
च्युना पिपिरा अनिहुन्छ सन्सनी
देखिन्छ साह्रा हरियाली जगल
होला यहाँ लौ अनि मात्र मंगल।
                                -गोरखा ।

सम्झना (शार्दूलबिक्रीडित)

                                  नेत्रप्रसाद न्यौपाने
छुट्टै गाउँ थियो थिए गजबका साथी र सङ्गीहरु
खेल्ने ठाउँ थियो थिए बगरका ढुङ्गा सिलौटाहरु ।
माटो उर्बर शक्तिले छ मलिलो बाँझा कतै छैन रे
त्यस्तो गाउँ भुलेर कुन्नि किन हो बैरी म हिड्दै छु रे ।।

खेल्थ्यौं टालटुली नयाँ प्रगतिका गर्थ्यौं कुरा बासित
गाई हेर्न भनी संधै बटुहरे जान्थें म कान्छीसित ।
कान्छीका सँग माहिली पनि लिई जान्थैं म मेला अनि
साह्रै मख्ख बनाउँथी नकचरी सम्झन्छु डल्ली पनि ।।

न्यानो घाम अहा चरा चिरबिरे उड्छन् बिहानै अझ
हावा मन्द, सुगन्धसाथ बहदै बर्षन्छ पानी अझ ।
डाँडा मुन्तिर खेत धान हरियो पाखा अझै सुन्दर
देखिन्थ्यो घरबाट पर्वत सबै कस्तो भयो त्यो घर ।।

बर्बोटे, सिमखेत विल्ल चउरी भन्ज्याङ पाखा शिर
इन्द्रेणी अझ चम्कदै गगनमा फैलिन्छ चारै तिर ।
अग्ला शैल पाहाड पर्वतशिला आकाशनै छुन्छ कि
मैलाई अझ सम्झदै प्रकृतियो क्वाँ क्वाँ गरी रुन्छ कि?
                           खोक्लिङ, ताप्लेजुङ

आमा (इन्द्रबज्रा)


देवी नेपाल
आमा नदी हौ म त विन्दु खालि
आमा धरा हौ म त अन्नबाली ।
सङ्गीत भर्छौं जड त्यो शिलामा
कैल्यै कुमाता भइनौ धरामा ।।
                     पग्लेर आफै धरणी भिजायौ
                     फोरेर छाती ममता बगायौ ।
                     देखिन्छ छाया श्रमका कलामा
                     कैल्यै कुमाता भइनौ धरामा ।।
                                         बर्साउँदै शीतल दुग्धधारा
                                         हुर्काउँदै छ्यौं मनका सितारा ।
                                         फेर्दैछ छोरो तर रुप नाना
                                         कैल्यै कुमाता भइनौ धरामा ।।
बोकेर माया तरुझै नुहुन्छ्यौं
वैशाखमा शीत बनी चुहुन्छ्यौं ।
आएन पापी रिस खै पलामा
कैल्यै कुमाता भइनौ धरामा ।।
                      गाएर लोरी ममता सिकायौ
                     खाएर पानी अमृतै बगायौ
                     डुल्दै छ छोरो किन कन्दरामा
                     कैल्यै कुमाता भइनौ धरामा ।।
                                         के रक्त जम्दा अब अस्त्र बन्छ ?        
                                         के मोह झर्दा भव ध्वस्त हुन्छ ?
                                         बल्दै छ आगो किन खोकिलामा ?
                                         कैल्यै कुमाता भइनौ धरामा ।।
                                                                                                                                                गोल्धाप, झापा

Thursday, December 16, 2010

प्रकृतिको आफ्नै विधान छ । जीवनको आफ्नै गति छ। जीवन र जगत लाई नियालेर हेर्ने हो भने जैविक वा अजैविक हरेकमा एउटा आफ्नै नियम छ  लय छ । ग्रहहरु ताराहरु बेछन्द घुम्दा हुन् त पृथ्वी पृथ्वी नहुन्थ्यो हामी हामी नहुन्थ्यौं । झरनाको कलकलमा चराहरुको चिरविरमा मात्र होइन मेघको गर्जनमा पनि एउटा गति छ । लय छ ।
काव्यको पनि आफ्नै बहाब हुन्छ विधान हुन्छ । गद्य कवितामा पनि त एउटा काव्यिक विधान भएन भने कविता कविता नभएर निबन्ध वा कथाको अंश बन्दछ । छन्दको महत्व र प्रभावको आंकलन आजभोली निकै फस्टाएको गजल विधा बाट पनि गर्न सकिन्छ ।
छन्द साहित्यको आफ्नै मीठास छ । छन्दको लय र विधानमा लहरिदाको काव्यिक आनन्द अवर्णनिय हुन्छ ।  आधुनिकता संगै हराउदै गएका शास्त्रीय छन्दहरुलाई गहिरीएर हेर्यौ भने त्यसको स्पर्श मात्रैले पनि हामीमा नयाँ जीवनको संचरण गराउँदछ । मात्र त्यसलाई हेर्ने दृष्टी चाहिन्छ ।
छन्द प्रधान साहित्यिक पत्रिका प्रकाशन को चार पाँच बर्ष अगाडीको प्रयास अध्ययन अध्यापनको व्यस्ततामा अधुरै रहेपछि यसलाई ब्लगकै माध्याम बाट भने पनि ल्याउने एकल जमर्को हो यो यसमा सम्पूर्ण साहित्य प्रेमीहरुको सहयोगको अपेक्षा गरेको छु ।
छन्दलतामा शास्त्रीय छन्द गजल तथा सम्पूर्ण लोक छन्दका रचनाहरु स्वागतयोग्य हुनेछन् ।

About Me

अनलाइन साहित्यिक पत्रिका सम्पादकः सुरेन्द्र देवकोटा